रमादेवी सापकोटा । डुनामिस न्युज, नेपाली पत्रकारिता र नेपाली ख्रीष्टियनहरु वर्तमान समयसम्म फल्दै फुल्दै र परमेश्वरको राज्य विस्तारको यो चरणमा आइपुग्नको लागि पादरी गंगाप्रसाद प्रधानले उहाँको जीवनभर उल्लेखनीय भूमिका खेल्नु भएको छ । पादरी गंगाप्रसादसँग गर्वलाग्दो प्रशंसनीय इतिहास रहेकोले थोरै शब्दहरुले मात्र उहाँको बारेमा चर्चा गर्दा अपूर्ण हुन जान्छ ।
जसरी बप्त्तिस्मा दिने युहन्नाले बाटो तयार पार्नुभयो त्यसरी नै नेपाली इसाई जगतलाई वर्तमान युगसम्म ल्याउन बाटो तयार पार्ने बिषेश अगुवाको रुपमा उहाँलाई प्रष्ट गरेर चिन्न सकिन्छ ।
नेपाली इसाई जगतकै पहिलो पास्टर गंगाप्रसादलाई विशेषगरी पादरीको नामले चर्चा पाएपनि उहाँ प्रचारक, भाषा अनुवादक, शिक्षक समाजसेवी, पत्रकार, सम्पादक, प्रकाशक, सहित्यकार जस्ता बहुआयामिक व्यक्तित्वका रुपमा पनि चिन्न सकिन्छ । जुन व्यक्ति परमेश्वरले दिनुभएको एउटा अमुल्य वरदान हो ।
काठमाडौको ठमेल स्थित ठहिटी टोलमा पिता रुपनारायण प्रधान र माता रुपमति प्रधानको कान्छो सन्तानको रुपमा विंक्रम संवत १९०८ असार २२ गते अर्थात सन ४ जुलाई १८५१) मा उहाँको जन्म भएको थियो ।
तत्कालिन राणाकालिन राज्यले अनेकौ वहानामा डर र धक्की दिदै जनतालाई देश निकाला गरिरहेको परिस्थिति विद्यमान थियो । कारणवश नेपालको सामाजिक, राजनीतिक र शैक्षिक अवस्था पनि त्यति फस्टाएको थिएन भने देशमा अन्य धेरै समस्याहरु थिए । बेरोजगारीको कारण जनता हातमुख जोड्न देशबाट मुग्लान पलायन भएरहेने क्रममा प्रधान पनि १० बर्षको हुँदा उहाँका सपरिवार २९ मे १८६१ मा भारतको दार्जिलिङ शहरमा प्रस्थान गरेका थिए । यद्यपि उहाँका जेठा दाजु भने रोजगारको सिलसिलामा केही बर्ष अघि नै त्यस ठाँउमा पुगिसक्नु भएको थियो ।
गंगाप्रसादको जन्म लगत्तै पछि उहाँको आमाको निधन भएकोले हिन्दुधर्म संस्कारबाट निम्तिएको अन्धविश्वासका कारण परिवारले उहाँलाई मुल्याहा र अलच्छिना भनेर घृणा गर्थे । यसरी र्हुिर्कएका प्रधान दार्जिलिङ पुगेपछि सुरुमा चिया बगानका मजदुरका रुपमा काम गरिरहेका थिए । सोही समयमा अगे्रज मिशनरी तथा पादरी विलियम म्याकफरलेनले नेपालीहरुको निम्ति स्कुल खोल्नुभएको थियो । अब भने प्रधानको लागि अध्ययन गर्ने ठुलो ढोका खुल्यो । १९ बर्षको उमेरमा अग्रेज पादरी म्याक फार्लेनले संचालन गरेको स्कुलमा ४ जुलाई १९७० को दिनमा उहाँ भर्ना हुनु भयो ।
बिडम्बनावस उहाकी सौतेनी आमाको प्रतिबन्धका कारण प्रधान फेरी बिद्यालयजानबाट बंचित हुनुभयो र पुन चिया बगानमै चियापत्ति टिप्न विवश हुनुभयो । पादरी म्याकले घरमै आएर निशुल्क पढाइदिने प्रतिवद्धतापछि गंगाप्रसाद फेरी सोही स्कुलमा पढ्न सुरु गर्नुभयो । अध्यन गर्दै गर्दा पादरी म्याकको आग्रहमा सोही विद्यालयको कक्षा १ लाई अध्यापन गराउने अवसर गंगाप्रसादलाई मिल्यो । शिक्षकको अभावमा यो अवसर प्राप्त्त गर्नुभएका गंगाप्रसादले ४ बर्षसम्म त्यस बिद्यालयमा पढाउने कार्य गनुभयो ।
ख्रीष्टियन मिसनरीहरुको सम्पर्क र प्रभावका कारण पादरी प्रधानले परमेश्वरको वचन सुन्ने मौका पाउनुभयो र प्रभु येशूलाई विश्वास गर्नुभयो । तत्कालिन समयमा नेपाली समाजमा ख्रीष्टियन बन्नेहरुलाई एउटा अपराधि सरह गनिन्थ्यो, उनीहरुलाई पानी बार्ने, छुवाछुत गर्ने, घरनिकाला तथा समाजद्धारा बहिष्कार गर्ने, जीउदैमा मरेको बराबर ठानेर किरिया समेत गर्ने जस्ता सामाजिक कार्बाही गरिन्थ्यो । बप्त्तिस्मा लिन र दिन त झन मुस्किल थियो, कारण त्यसबेलासम्म कुनै पनि नेपालीले इसाई धर्म ग्रहण गरेका थिएनन्, तर पादरी प्रधानले देश र समाजबाटको यत्रो तिरस्कारका बाबदुत पनि विश्वासको कदमलाई झन बढाउदै लैजानुभयो ।
ख्रीष्टलाई पछ्याइरहेको कारण उहाँलाई फेरी परिवारभित्रैबाट समेत चरम सतावट सुरु भयो । पादरी प्रधानले यस्ता खराब परिस्थितिसँग हार मानेर आफू र आफ्नो गन्तव्यलाई असफल हुन दिनु भएन बरु आशा र साहससाथ कठिनाइको सामना गर्दै प्रगति र परिवर्तनको ढोका खोल्दै अघि बढ्नुभयो ।
मातृप्रेमविहिन प्रधानले ख्रीष्टको प्रेमलाई चाखिसकेको कारण परिवारिक सतावटको कुनै प्रवाहनै गर्नु भएन बरु त्याँहाबाट पनि भागेर अलाहाबाद पुगी उहाँले २४ जनवरी १८७५ को दिन २४ बर्षको उमेरमा भारतको इलाहावादमा पादरी बिनकुपबाट बप्त्तिस्मा लिनुभयोे ।
त्यसपछि उहाँको विवाह एलिजावेथ राईसँग भयो । उहाँहरुको ६ जना छोरी र २ जना छोरा गरी ८ सन्तान जन्मिए । यस पछि पनि गंगाप्रसादले निरन्तर येशु ख्रीष्टको विश्वासयोग्य चेला बनेर सेवाकाईलाई अघि बढाउन थाल्नु भयो ।
पादरी गंगाप्रसादको जीवनले सेवाकाइको क्षेत्रमा अब नँया मोड लियो । सन १९०० मा उहाँलाई दार्जिलिङको सन्त कोलम्बा चर्चको सहयोगी अगुवाको रुपमा नियुक्त गरिएको थियो । यस पछि उहाँले सक्रिय रुपमा सेवाकाईलाई निरन्तरता दिनुभयो ।
यसैक्रममा उहाँलाई सन १९०१ मा पादरीको रुपमा अभिषेक गरियो । यद्यपि त्यो समयमा अग्रेजहरुमात्र पादरी पदमा अभिषेक हुन सक्थे ।
नेपाली समूदायबाट पहिलो पादरीको रुपमा अभिषिक्त प्रधान पादरी म्याक फार्लेनसँगको बलियो र निकट सम्बन्धको कारण अग्रेजी भाषामा समेत पोख्त हुनुभयो ।
पारिवारिक आर्थिक भार पनि उहाँकै काँधमा थियो भने उहाँको जग्गा जमिन जस्ता नीजि सम्पत्ति थिएन । उहाँले यस्ता उचारचढावसँगै सेवाकाईमा आफूलाई झन प्रखर बनाउदै लैजानु भयो ।
इसाई भएकै कारण जन्मथलो काठमाडौ फर्किएको केही समयमै पुन दार्जिलिङ लखेटिनु परेकोले पादरी गंगाप्रसादले नेपालभित्र रहेर सेवाकाई गर्ने कुनै मौका पाउनु भएन । उहाँले मण्डलीको जिम्मेवारी र प्रतिष्ठित पदभारबाट २० बर्ष सेवारत रहेर १९२१ मा अवकाश ग्रहण गर्नुभयो ।
कृति र योगदान:
नेपाली बाइबल अनवाद
भारतकै राचि बिहारमा बाइबल तालिम लिएर गंगाप्रसादले नेपाली भाषामा सुसमाचारका पर्चा बनाउने र बाइबल धर्मशास्त्रलाई नेपालीमा उल्था गर्न थाल्नु भयो ।
पादरी गंगाप्रसाद सन १८७५ देखि एक सक्रिय अनुवादकका रुपमा विशेष गरि बाइबलीय सम्बन्धि पत्रपत्रिका तथा पुस्तकहरुको अनुवाद कार्यमा व्यस्त हुनुभयो । उहाँ यस समयदेखि १८९० का बीचसम्म मण्डलीका पहिलो पंक्तिका अगुवा र प्रवक्ता रहिरहनु भयो ।
१ अप्रिल १९९४ मा सम्पूर्ण बाइबललाई नेपाली भाषामा अनुवाद गर्नको लागि उहाँको नाँउ द ब्रिटिस एण्ड फरेन बाइबल सोसाइटिले आधिकारिक रुपमा सिफारिस गरेबाट यस तथ्यको पुष्टि हुन्छ ।
गंगाप्रसादको अथक परिश्रम र समर्पणमा नेपाली बाइबल सन १९१२ मा तयार भयो । अनुवादकको क्रममा मिसनरी पादरी टर्नबुल र किलोर जस्ता भाषाविदहरुबाट पनि सहयोग पाउनुभयो । यसरी किङ जेम्स भर्सनको विल्कुल हुवहु अनुवाद सन १९१४ मा कलकत्ताबाट प्रकाशित भएर आयो । यिनै नेपाली बाइबलबाट लाखौ नेपालीले जीवनको पानी पीउने अवसर प्राप्त्त गरे ।
२० बर्षे साधना र अथक प्रयासले पादरी गंगाप्रसादलाई नेपाली बाइबल अनुवादकका महारथी बनाएको छ । यद्यपि त्यो बेलाको बाइबल हाल जस्तो चिटिक्क र छरितो भने थिएन । पापड जस्तो पाना भएकोले कतिले यसलाई ‘पापड बाइबल’ भन्थे ।
गंगाप्रसादारा अनुवादित तत्कालिन स्वरुपको बाइबलका मति ५ अध्यायको केही अंश यस्तो छ ः–‘अनि धुइराहरुलाई देख्या र डाँडामा ऊ बस्यो तब उसका शिष्यहरु तही आए’ जस्तो भाषा थियो ।
यहि बाइबललाई आधार मानि विभिन्न समयमा संसोधन हुँदै आज हाम्रो हातमा सरल मिठो र व्यवस्थित बाइबल उपलब्ध छ ।
थोरै समयमा प्रखर भाषाका ज्ञाता बन्न सफल पादरी प्रधानले अग्रेजहरुकै सहायताद्वारा २० बर्ष सम्मको अथक परिश्रमबाट नेपाली भाषामा पुरानो करारदेखि लिएर नँया करार सम्मको पूर्ण बाइबल अनुवाद गर्नु भयो, जुन कार्य १९१२ मा पूरा भएको थियो । बाइबल अनुवादकको क्रममा उहाँले मिसनरी पादरी टर्नबुल र किल्गोर जस्ता ग्रीक र हिब्रु भाषाविदहरुबाट पनि सहयोग लिनुभयो । यसरी किङ जेम्स भर्सनको विलकुल हुबहु अनुवाद १९१४ मा कलकत्ताबाट प्रकाशित भएको थियो । उहाँले बाइबल बाहेक दर्जनौ पुस्तकहरु एकल वा संयुक्त रुपमा अनुवाद गर्नु भएको छ । त्यसैले अनुवाद लेखन र प्रकाशनमा उहाँको योगदान विशिष्ट र प्रथम पंक्तिमा पर्छ ।
उहाँका केहि कृतिहरु
‘पुरुष र स्त्रीहरुका बष्त्तिमाको रीत’,’बाइबलको हाड’, ‘प्रभुभोज’, ’स्कुल सोध्नत्तर’, ’उखानको पुस्तक’ लगायत सेकुलर र ख्रीष्टियन पुस्तकहरु प्रकाशित गर्नुभयो ।
त्यस्तै गायन क्षेत्रमा पनि पादरी गंगाप्रसादले ठूलो योगदान दिनुभएको छ । नेपाली ख्रीष्टियन समुदायमा उहाँका भजन गीतहरु अझै अजर अमर छन् भने मण्डलीमा घन्किरहेका छन् ।
‘येशू है ख्रीष्टको क्रुसैको मरण’ ‘यो जग कहिले छैन स्थीर’, ‘जय जय मसिहको जय’, ‘उभै त हेरु बैकुण्ठधाम छ ‘, ‘प्रभु अर्जि सुनिदेउ’, गोर्खालीले मुक्ति पाउने ढोका खोलिदेउ’ लगायत दर्जनौ नेपाली गीत र भजन रचेर मण्डलीलाई गाउन सिकाउनु भयो । वर्तमान नेपाली इसाई संगीतको समृद्ध रुप नै उहाँको देन मान्न सकिन्छ । उहाँको भजनमा प्रार्थना भक्ति र शिक्षा पनि थियो । जुन आजसम्म पनि ठूलो भक्तिका साथ मण्डलीहरुमा गाइन्छ जसले मानिसहरुको जीवन र ह्रिदयलाई छुन्छ ।
ग्रेस मिसनरीलाई जस्तै पादरी टर्नबुललाई पनि पादरी गंगाप्रसादले नेपाली भाषा सिकाउनु भयो ।
सुसमाचार प्रचारक
प्रधानले प्रभु येशुको सुसमाचार प्रचार कार्यमा पनि उत्तिकै लगनशिल भएर निरन्तरता दिनुहुन्थ्यो । गुन्द्रिबजार भनिने हाल चोक बजारमा उहाँले निडरताका साथ गरिएको सुसमाचार प्रचार सुन्नको लागि मानिसहरुको धुइरो लाग्थ्यो । साथै अन्य ठाँउमा गएर पनि बाइबल शिक्षक र मिसनरीको काम गर्नुहुन्थ्यो ।
आत्मिक र बाइबलीय ज्ञानमा पोख्त, पादरीको परिपक्व गुण र सेवामा अति संवेदनशील जस्ता क्षमता भएकोले प्रधानलाई खरसाङमा भएको मण्डली रेखदेख गर्नलाई १८७७ मा र पछि दार्जिलिङको सन्त कोलम्बा मण्डलीमा १९०१ मा पहिलो नेपाली पादरीमा नियुक्त गरियो ।
स्वर्गारोहण भएको चार दशक पछि ४ जुलाई १९७५ को दिन पादरी गंगाप्रसाद प्रधानको १२४ औ जन्म जयन्ति पहिलो पटक मनाइयो । त्यसपछि पनि यदाकदा मनाइदै आएको र वर्तमानसम्म्म आइपुग्दा विभिन्न ख्रीष्टियन संघ संस्थाले उहाँको जन्म जयन्ति मनाउन थालेको छ । उहाँको जन्मजयन्ति औपचारिक रुपमा मनाएर मात्र हामी पन्छिन सक्दैनौ तर उहाँले जसरी जीवनका उतारचढावहरु सहदै व्यक्तिगत श्वार्थ बिर्सेर आँखाले नदेखेका ख्रीष्टमा आउन लागेका भावी नेपाली पुस्ताहरुलाई कसरी योगदान गर्नु भयो र हामीले पनि वर्तमान र भावी ख्रीष्टियन पुस्तालाई कस्तो र कसरी योगदान दिन सक्छौ भन्ने कुरा प्रति गम्भिर ध्यानाकर्षण हुनु जरुरी छ ।
‘गोर्खा प्रेस’को स्थापना
ठूलो आर्थिक संकट झेलेकै अवस्थामा पनि पादरी प्रधानले सन १९०१ मा अग्रेजहरुसँग स्कटिङ मिशन ओर्मेज प्रेस खरिद गर्नुभयो । जुन छापाखाना ‘गोर्खा प्रेस’को नामले चिनिन्छ भने यसलाई नेपाली प्रेस इतिहासमा समेत उल्लेख गरिएको छ ।
उक्त प्रेसमा मण्डली सम्बन्धी सुचना र लेख छापिन्थे भने उहाँले विज्ञापन लगायत विभिन्न साहित्यका बिधा समाचारमुलक आफै पनि लेख्ने गर्नुहुन्थ्यो । उहाँका अतुलनीय योगदानलाई गैर इसाइहरुले समेत वेवास्ता गर्न मिल्दैन ।
‘गोर्खे खबर कागत’ मासिक पत्रिका
नेपाली जातिलाई उदाहरणीय पात्र र परमश्वरले दिनुभएको अमुल्य वरदान हो पादरी गंगा प्रसाद प्रधान । थोरै स्कुलको शिक्षाबाट धेरै ज्ञान बटुलेर त्यहि ज्ञानलाई कठिन जीवनको अनुभवले दिएको बुद्धिद्वारा प्रयोग गर्ने पादरीको योगदान भाषा उत्थान र चर्चप्रति मात्र थिएन ।
१९०१ देखि १९३२ सम्म लगातार रुपमा उहाँले गोर्खे खबर कागत प्रकाशन गर्नुभयो जसको सम्पादक उहाँ आफै हुनुहुुन्थ्यो, उक्त मासिक पत्रिका तत्कालिन समयमा प्रचलित थियो ।
सन १९०१ देखि १९५७ सम्म मासिक पत्रिका ‘गोर्खे खबर कागत’ नामक मासिक पत्रिका को प्रकाशन ३१ बर्षसम्म अर्थात जीवन पर्यन्त निरन्तर प्रकाशन भयो । तत्कालिन समयमा मासिक पत्रिका मात्र प्रकाशित हुन्थे । जसको सम्पादकीय भूमिकाको निर्वाह पनि उहाँ आफैले गर्नुहुन्थ्यो भने यसको मुख्य उद्धेश्य ख्रीष्टियन आस्था बाइबलको प्रचार प्रसार गर्नु नै थियो ।
नेपालमा पत्रकारिताको सुरुवात नहुदा र नेपालमा आधिकारिक पहिलो पत्रिका गोरखापत्रको उदय समेत नभइकन प्रवासबाट उत्पादित पहिलो नेपाली पत्रिका हो । आजको युग सम्मको लागि दुरदर्शिता बोकेको यो पत्रिका एउटा अगौटे पत्रिका थियो । नेपाली भाषामा प्रकाशित यस पत्रिकाको उद्देश्य इसाई सिद्धान्त आस्थामा आधारित थियो । इशाई समाजमा मात्र नभएर नेपालीको पाठ्यपुस्तक बनाउन प्रधानले भूमिका खेल्नु भयो भने नेपाली साहित्यमा ठूलो प्रभाव र अगुवाई गर्नु भयो ।
स्वर्गीय हुनु अघि उहाँले आफ्नी धर्मपत्नि एलिजावेथको चिन्ता गर्दै उहाँले भन्नु भएको थियो, “म त प्रभुको घर जादैछु तर उनको याद गर्नु है” भनि अरुलाई जिम्मा लगाउनु भएको थियो ।
यसरी नेपाली इसाईको लागि उहाँका उदाहरणीय महान जिम्मेवारी बोकेको दोड पुर्ण गर्दै २८ मार्च १९३२ को दिन ८१ बर्षको उमेरमा दार्जिलिङमा उहाँले प्रभुमा विश्राम लिनु भयो ।
बिडम्बना के छ भने ४३ बर्षसम्म पादरी गंगा प्रसाद प्रधानको यति महान योगदानको कतै पनि कुनै तवरले कदर गरिएन ।
बहुमुखि प्रतिभाका धनी प्रधान बहुभाषिक र बहुमुल्यका मात्र होइन तर सधैभरीका लागि नेपाली ख्रीष्टियन समाजका लागि विश्वास र सेवाकाइका लागि प्रेरणाका पात्र बनिरहनु भयो । गंगाप्रसादको जीवनभरको व्यक्तित्वलाई नियाल्दा उहाको स्वार्थ भनेको गोर्खार्ली अर्थात नेपालीहरुको निश्वार्थ सेवा गर्नु थियो ।
उहाँको योगदान र महत्वलाई कदर गर्दै नेपाली ख्रीष्टियन सघं सस्थाहरुले उहाँको जन्मजयन्ति मनाउदै आएको छ । सन १९७२ मा पहिलोपल्ट पारसमणि प्रधानद्धारा लिखित ‘काशी भाषे बोली’ लेख मार्फत पादरी प्रधानको सम्झना भयो ।
नेपालमा सुसमाचारको ढोका खोल्नु अघि नै परमेश्वरले नेपाल र नेपालीहरुको मुक्ति र भविष्यको लागि योजना तय गरिसक्नु भएको रहेछ । नेपालको मल्लकालमा क्यापुचिन मिसनरीहरुले ख्रीष्टियनहरु उत्पादन गरिसकेका थिए तर त्यो सेवाकाइ शाहवंशको शासनकालको उदयसँगै विलय भएर गयो । त्यसपछि १०४ बर्षको जहानिया राणा शासनको अन्यसँगै नेपालमा फेरी ख्रीष्टियनहरुको पुर्नस्थापना भयो ।
निश्कर्ष
पादरी प्रधान प्रवासमै रहदा नेपालीको भविष्यको योजना बुन्दै परमेश्वरले महान काम गरिराख्नु भएको थियो । नेपालमा परमेश्वरको राज्य बिस्तारको लागि पाएको महान बोलावटललाई उहाँले पुरा गरेरै मात्र विदा हुनुभयो ।
परमेश्वरले पादरी प्रधानको महान सेवाकाई उहाँको जीवनद्धारा आजका समग्र नेपाली ख्रीष्टियन समाजको लागि महान योजना बनाउनुभएको र त्यो योजना पूरा भएको हो भनि ठम्याउन सकिन्छ । सघर्षमय जीवनबाट केहि उपलब्धि अवश्य हुदोरहेछ भन्ने कुरा पादरीको जीवनीले प्रमाणित गर्दछ । जब कोही मानिस परमेश्वरको पूर्ण भरोसामा जीउछ तब त्याँहा उहाँको योजना पूरा हुनको लागि महान आश्चर्यकमहरु हुँदोरहेछ भन्ने उहाको जीवनबाट चरितार्थ हुन्छ ।