बिहि, जेष्ठ १६, २०८२
Search
बिहि, जेष्ठ १६, २०८२

प्रभु आफैले द हिलिङ चर्चको नामाकरण र स्थापना गर्नु भयो, मैले होइन : पास्टर  सुक्रम  

 

सुक्रम तामाङ द हिलिङ चर्चका संस्थापक पास्टर हुनहुुन्छ । उहाँले सुसमाचार प्रचार, चंगाइको सेवाकाई घरेलु संगति, आराधनासेवा, पास्टरीय सेवाकाई लगायतका विभिन्न सेवाकाईहरुमा लामो समयदेखि योगदान दिदै आउनु भएको छ । सेवाकाईको दौरानमा उहाँका भोगाइ र अनुभवहरुका विषयमा केन्द्रित रहेर डुनामिस न्युजसँग उहाँले गर्नुभएका कुराकानिका बाँकि अंशहरु ।

आजकाल तपाईको समयहरु कसरी बितिरहेको छ ?

हाल द हिलिङ चर्चको पास्टरीय सेवाकाईदेखि विभिन्न सेवाकाईहरुमा व्यस्त रहेको छु भने यसका साथसाथै आफ्नो जागिर व्यावशाय पनि गर्दै आएको छु ।

द हिलिङ चर्च कहिले र कसरी स्थापना भयो ?

सन २०२१ मा द हिलिङ चर्चको स्थापना भएको हो । परमेश्वरेको प्रत्यक्ष हरुतक्षेपद्वारा यो मण्डली स्थापना भएको हो किनकी मैले मेरो नेतृत्वमा छुटटै मण्डलीको स्थापना गर्ने कहिल्यै कुनै योजना बनाएको थिइन । एकदिनको कुरा हो सेवाकाईमा कार्यरत हुँदा हुँदै विभिन्न बाध्यताले गर्दा परिवार सहित जापान जाने योजना बनाएको थिए र यसका लागि ढोकाहरु पनि खुलिसकेका थिए तर त्यसको उद्देश्य मेरो व्यक्तिगत सुखसयल र जीवन यापनको लागि मात्र थिएन तर मेरो परिश्रमद्वारा मण्डलीहरुमा आर्थिक समर्थन गर्न सकियोस भन्नेमा केन्द्रित थियो । यस योजनामा म भित्रैदेखि खुशी भने पटक्कै थिइन कारण मैले जन्माएका र हुर्काएका विश्वासीहरुको समूहलाई नै छोडेर जानुपर्ने थियो । एकातिर विश्वासीहरुको समूहलाई सेवा पुर्याउनु पर्ने ठूलो आवश्यक्ता थियो अर्कोतिर मेरो वैदेशिक रोजगारीमा जानैपर्ने बाध्यताहरु पनि थियो । यी पीडाहरुलाई सहन नसकेर म एक्लै एकान्त ठाँउमा बसेर प्रभुको उपस्थितिमा गए र उहाँसँग रुदै थिए मैले भने “प्रभु मेरा भेडाहरुलाई छोडेर जान मन छैन तर जानुपर्ने मेरो बाध्यता छ ” यत्तिबेला नै प्रभु बोल्नुभयो र भन्नुभयो “द हिलिङ चर्चको स्थापना गर् र संचालन गर् ।” यति सुनेपछि म खुशी र आनन्दले भरिएर आफूलाई पुन परमेश्वरको योजना र इच्छा अनुसारको सेवाकाईमै  समर्पित गरे । मलाई त्यतिबेला विना लगानिमै  बिजनेस पार्टनर बनेर नेपालमै रहेर अरब पति बन्न सक्ने ठूला ठूला अवसर समेत आएका थिए तरपनि ती अवसरहरुलाई पन्छाउन पर्दा मलाई कुनै अफसोस भएन कारण उहाँको नँया योजना अनुसार प्रभुको सेवाकाईमा पुर्नस्थापना हुन पाउदा झन खुशी भए ।

यसरी द हिलिङ चर्चको स्थापना गर भनेर परमेश्वर स्वंले नै नामाकरण गरिदिनु भयो र मलाई गोठालोको रुपमा जिम्मा लगाइदिनु भयो तर म आफैले होइन । म पहिल्यैदेखि सेवाकाईमा समर्पित भइसकेको कारण प्रभुको महान योजनाको सेवाकाईमै म आनन्दित र समर्पित छु ।

हिलिङ चर्चको भिजन कस्तो छ ?

 द हिलिङ चर्चको भिजन भनेको मानिसहरुले आत्मिकी र शारिरिक चंगाई प्राप्त्त गर्न सकुन, परमेश्वरले प्रतिज्ञा गर्नुभएको वचनको पूर्णतामा उनीहरु आइपुग्न मद्दत गर्नु र नँया आत्मा बचाउनु हो ।

वर्तमान नेपाली परिस्थितिमा मण्डलीको एउटा नेतृत्वकर्ताले भोग्नुपर्ने कठिनाई र चुनौतिहरु के कस्ता रहेका छन् ?

परमेश्वरको राज्यको नेतृत्व गर्दै गर्दा नेपाली परिस्थितिमा मात्र होइन विश्वासीहरुको इतिहासदेखि नै कठिनाई र चुनौतिहरुको सामना गर्नु परेको छ ।  त्यसै गरि बाइबल भरि नै सतावटका उदाहरणहरु प्रसस्त भेटिन्छन् । त्यस्तै चुनौतिहरु, झुठा आरोपहरु, गाली बेइज्वतीहरु जस्ता कुराहरु नै हामी नेपाली मण्डलीका नेतृत्वहरुले पनि भोग्नु परेको छ । यी परिस्थितिका बाबजुत पनि हामी सबैको मुल गोठालो भने येशु ख्रीष्ट नै हुनुन्छ । जसलाई पछ्याउदा यी सबै कठिनाइहरुलाई हामीले पार गरेर अघि बढ्न सक्छौ ताकि प्रभु येशु भन्दा ठूलो कुरा कुनै पनि समस्या हुन सक्दैन र त्यसले मण्डलीमाथि विजय पाउन सक्दैन ।

सबै मण्डलीहरु स्थापनाकालमा जसरी कालान्तर सम्म सफल भएको देखिदैन किन मण्डलीहरु असफल हुन्छन् ?

 मण्डली स्थापना गर्न जसरी यसलाई निरन्तर टिकाउन सजिलो कुरा होइन । परमेश्वरको इच्छा अनुसार मण्डली खोल्नु पर्दछ वा आफ्नो व्यक्तिगत श्वार्थ र अन्य  उद्देश्यले खोलिनु हुँदैन । त्यसै गरि आवश्यक परेको स्थान र समयमा परमेश्वर आफैले मानिसलाई मण्डली सुरु गर्न अगुवाइ गर्नुहुन्छ । संसारमा परिस्थिति जस्तो पनि आउन सक्छ तर हामीले खराब समयमा पनि असल काम गर्दै जानु पर्छ । (१ कोरन्थि ३ : ६) ले भनेझै पावलले रोपे अपोल्लोसले पानी हाले तर बृद्धि गर्ने चाहि परमेश्वर नै हुनुहुन्छ । मण्डलीको शीर ख्रीष्ट हुनुहुन्छ जब सम्म ख्रीष्टले कुनै मण्डलीमा ठाँउ पाउनु भएको छ भने त्यो मण्डली निरन्तर विजयी हुदै जान्छ । तर मानिसले ख्रीष्ट र उहाँको आत्मालाई ठाँउ दिएन र नेतृत्वकर्ताले मनोमानि गरेर एउटा चर्च चलाउछ भने त्याँहा परमेश्वरको कुनै हस्तक्षेप हुने छैन र असफल हुन जान्छ । त्यसै गरि मण्डलीमा सतावट र खराब परिस्थिति आउदा समेत स्थिरताको खाँचो पर्छ ता कि हामी उहाँमै भरोसा गर्न सकौ ।

 एउटा मण्डली कुशल तरिकाले संचालन गर्न पास्टर कस्तो हुनुपर्छ ?

सबै भन्दा महत्वपूर्ण कुरा कुनैपनि सेवक परमेश्वरलाई र उहाँका मासिलाई प्रेम गर्ने र परमेश्वरको भय मान्ने व्यक्ति हुनै पर्दछ । एउटा पास्टर भनेको ख्रीष्टको प्रतिनिधित्व गर्दै मण्डलीको हेरचाह गर्ने गोठालो हो । एउटा गोठालाले आफ्नै तरिका र साप्रदायिक सिद्धान्तलाई पहिलो स्थान दिन मिल्दैन ख्रीष्टकै तरिकामा मात्र संचालन हुनुपर्छ । नैतिक चरित्रवान, वचनप्रति सचेत, निश्वार्थी र हरेक अवस्थामा ख्रीष्टमै भरोसा गर्ने हुनुपर्छ ।

 परमेश्वरले मानिसमा राख्नु भएको योजना र दर्शन कसरी पूरा हुन सक्छ र कसरी पूरा हुन सक्दैन ?

तपाइले ठीक प्रश्न गर्नुभयो परमेश्वरले हरेक मानिसमा योजना बनाउनु भए अनुसार दर्शन दिनुहुन्छ । तर त्यसलाई पूरा गर्ने र नगर्नेचाहि मानिस स्वयंमा भर पर्दछ । जस्तै बाइबलको न्यायकर्ताको पुस्तक १३ अध्यायमा हेर्ने हो भने सिमसोनमाथि परमेश्वरले महान योजना राख्नु भएको थियो तर यसप्रति शिमशोन भने पटक्कै बफादार थिएन । उसलाई इस्रायलीको पक्षमा लड्न र अन्यजातिहरुको अघि परमेश्वरको महिमा गर्न बोलावट थियो तर उसले त्यो कुरालाई वेवास्ता गरेर शारिरिक अभिलाषालाई तृप्त्त गर्ने तर्फ लागेर आफैलाई बर्बाद पार्यो ।

जसरी परमेश्वरको योजना र दर्शनलाई उसले इन्कार गर्यो त्यसरी नै परमेश्वरबाट पाएको महान शक्ति र अभिषेक पनि उबाट हट्दै गयो र अन्यजातिहरुसँग नमिठो हार बेहोर्दै पतन भयो (न्यायकर्ता १६), नत इस्रायलीकोलागि केहि गर्न सक्यो । त्यस्तै मोसा, यहोशु, दाउद देखि लिएर नँया करारका पावल, पत्रुस लगायतका बाइबलमा थुप्रै पात्रहरुले दुख र सतावटको प्रवाह नगरी परमेश्वरले उनीहरुमाथि राख्नु भएको बोलावटबाट तर्किएनन । उनीहरुले आफुलाई परमेश्वरको अधिनमा राखे सांसारिक र शारिरिक अभिलाषाबाट टाढै रहे कारण उनीहरुले परमेश्वरको महान योजना पनि पूरा गर्न सक्षम भए । हो यसरी नै हालका विश्वासीहरुमा पनि परमेश्वरको योजना पूरा हुन पनि सक्छ र नहुन पनि सक्छ । यदि सांसारिक वैभव र सुख विलासको मात्र पछि लाग्छौ भने दर्शन कदापि पूरा हुन सक्दैन तर आफूलाई हरेक कुरामा परमेश्वरको अधिनमा राख्दै, दुख र कष्टमा पनि हतास नभइकन विभिन्न अभिलाषालाई कुल्चदै स्वर्गीय प्रभु येशुलाई पछ्याउदै हिड्छौ भने चाहि अवश्य पनि उहाँको बोलावट र दर्शनलाई पूरा गर्न सक्छौ ।

 

हाल तपाइको मण्डलीमा विश्वासीहरु खचाखच भइरहेको अवस्थामा मण्डलीलाई कसरी भौतिक तथा अन्य व्यवस्थापन गर्ने योजना बनाउनु भएको छ ?

हो साच्चै नै केहि समय अघिदेखि मण्डलीमा विश्वासीहरु अटाउन मुस्किल भएको छ । यसको लागि हामीले फराकिलो हल खोजिरहेका छौ परमेश्वरले अवश्य जुटाउनुहुन्छ भनेर पर्खाइमा बसेका छौ  त्यस्तै उहाँहरुको संगति र अन्य व्यवस्थापनमा पनि हामीले केहि नँया सेवकहरु खटाइरहेका छौ भने अरु नँयाहरुलाई पनि सेवाकायिमा आउन उत्प्रेरित गर्दै तयार गरिरहेका छौ । मण्डली ख्रीष्टको हो तर पनि हामीले उहाको लागि बाटो तयार पारिदिनु पर्छ तब उहाँले उचित व्यवस्थापन गर्दै लैजानुहुन्

छ भन्ने विश्वासमा छौ ।  मण्डली शिक्षित होस भन्ने परमेश्वरको इच्छा अनुसार (होशे ४ : ६) हामीले पनि मण्डलीका सबै सदस्यहरुलाई थप बाइबलीय ज्ञान प्राप्त्त गरुन भन्ने उद्देश्यले बाइबल स्कुल जान प्रेरित गरिरहेका छौ भने मण्डलीका कतिपय विश्वासीहरु दिक्षित पनि भइसक्नु भएको छ । त्यस्तै मण्डलीका हामी नेतृत्व समूहले आफैलाई पनि बाइबलीय खाटि शिक्षा अध्ययनमा बृद्धि गर्दै गराउदै अध्यापन गराउने कार्य पनि गरिरहेका छौ ।

 

तपाइको चंगाइको सेवाकाईमा उल्लेखनीय रुपमा आश्चर्यकर्महरु भएको देखिएको छ । ती मध्ये केहि कामहरु बताइदिनुस न ?

मेरो हाल सम्मको सेवाकाईमा थुप्रै चंगाईका कामहरु भएका छन् तर सबै रेकर्ड राखेर साध्य पनि हुदैन । चंगाई ग्रहण गरेका ख्रीष्टियन र गैर ख्रीष्टियनहरु समेत यसका साक्षीहरु छन् । केहि घटनाहरुको उदाहरण दिनुपर्दा मेरो परिवार भित्रै महान गवाही हरु छन् ।

केहि बर्ष अघि एकदिन हामी श्रीमान श्रीमती काठमाडौमै आयोजित एउटा वैवाहिक समारोहमा गएर फर्कदै गरेका थियौ । यसै क्रममा मेरो मोटरसाइकलको पछाडि बसेकी मेरी श्रीमती पास्टर सबिना त्याहाबाट पल्टनु भएछ र त्यहि उहाँको मुत्यू भएछ । मैले भने केहि पर पुगेपछि मात्र चाल पाएर फर्केर खोज्ने क्रममा उहाँलाई मृतक अवस्थामा भेटे । परमेश्वरले यस्तो प्रकारको असामयिक मृत्यू ल्याउनु हुन्न भन्ने चेतनाप्रति म विस्वस्त रहेको कारणले यो दुर्घटनालाई मैले स्विकार गरिन यद्यपि त्याँहा भेला भएका मानिसका भीडले भने उहाँलाई मृतक घोषणा गरेर अस्पताल होइन बरु अन्तिम संस्कार गर्न लगे हुन्छ भनिरहेका थिए, तर मैले भीडको कुरा होइन बरु येशु प्रभुलाई नै उहाँको जीवन फर्काउन पुकारा गरे मेरो विश्वास अनुसार उहाँले मृतकको कानमा तेरो सास फुक भन्नु भयो, तब मैले त्यसै गरे र श्रीमती सबिनाले पनि श्वास फेर्न थाल्नु भयो बिस्तारै केहि दिन पछि बोल्न पनि थाल्नु भयो र हालसम्म म सँगै पास्टरीय सेवाकाई गरेर मण्डली संचालनमा सहायता गरिरहनु भएको छ । त्यसैले हामी जस्तो प्रकारको विश्वास गर्छौ त्यस्तै परिणाम पाउछौ ।

त्यस्तै लगभग २० बर्ष अघि मेरो आफ्नै आमाको दुवै मृगौला फेल भएर डाक्टरहरुले डाइलोसिसको निम्ति भारत लानु पर्छ भनेको थिए । मृत्यु नै अब मेरो अन्तिम विकल्प हो भन्दै उहाँ रोएर बस्नु भएको थियो कारण त्यतिबेला नेपालमा अहिले जसरी उपचार गर्न पनि सहज थिएन । पिसाब शरीरमा भरिएर सबै जीउ सुन्निएर पिडुलामा चिरा पर्दै पानी बग्न थालिसकेको थियो । तर हामीले दिनरात प्राथना गर्दै परमेश्वरको वचन दावी गर्दै जाँदा उहाँको रोकिएको पिसाब थोरै लाग्न थाल्यो, सुन्निएका शरीरका भागहरु पनि सुक्दै सुक्दै जान थाल्यो । पिसाब लाग्न थाले पछि उहाँले पानी पनि खान थाल्नु भयो र अन्तमा पूर्ण रुपमा निको भयो । पछि एक्सरे गरेर हेर्दा पनि श्वस्थ मृगौला देखियो । एक महिना जतिमा आमा निको हुनु भयो । अहिले सम्म नै मेरी आमा जीवित र श्वस्थ हुनुन्छ परमेश्वरको महिमा भएको होस् ।

प्रभु येशुलाई विश्वास गरेको बर्षौ सम्म पनि यसरी सबै विश्वासीहरुले चंगाई ग्रहण गर्न सकेका छैनन उहाँहरुलाई चंगाई पाउनको लागि कसरी प्रेरित गर्न चाहनुहुन्छ ?

मानिसलाई सकारात्मक भन्दा नकारात्मक कुराहरु विश्वास गर्न सजिलो पर्छ किनकी मानव जातीमा असल भन्दा खराब कुराहरुकै बढी चर्चा हुन्छ । जब मानिसले सुन्छ अनि त्यहि सुनेका कुरालाई नै विश्वास गर्छ र त्यहि कुराहरुको चर्चा गर्दै हिड्छ । त्यसैगरी जब मानिसले बोल्छ तब संसारमा त्यस्तै कुराहरु फेरी सिर्जना हुन थाल्छ ( हितोपदेश १८ : २१ ),(१ पत्रुस ३ : १०), (हितोपदेश १३ :२–३) । यस्ता बानी र नकारात्मक बोल्ने सांसारिक शैलीहरुले गर्दा पनि चंगाइमा बाधा पुगिरहेको हुन्छ । त्यसैगरि प्रभु येशुले खानुभएको कोर्राका चोटहरुले हाम्रा सबै रोगहरु निको भइसकेको कुरा वचनमा उल्लेख छ ( १ पत्रुस २ : २४) तर निको भएको कुरालाई घोषणा र विश्वास नगरिकन पीडा दिइरहेको रोग र समस्याप्रति केन्द्रित हुन्छौ र त्यसैको व्याख्या गर्छौ भने त्यो पनि चंगाइका बाधा हुन जान्छ र हामी निको हुन सक्दैनौ । त्यसैले हामीले परमेश्वरको चंगाईको वचनलाई ध्यान मनन गरेर विश्वास गर्यौ भने चंगाई प्राप्त्त गर्न कुनै कठिन पर्दैन किनकी मानिस निरोगी भएर रहनु नै परमेश्वरको इच्छा हो ।  मानिसले आफ्नो ओठको रखवाली गरेर त्यो जीवनको चक्रलाई बदल्नुपर्छ ।

तपाई किन ख्रीष्टियन समुदायको बाहिरी अर्थात देखिने कार्यक्रमहरुमा सहभागि भएकोे हुनुहुन्न ?

जुन व्यत्तिहरु मण्डली बाहिरी संघ सस्थाहरुमा वा कार्यक्रमहरुमा उत्रिएर हिड्नु भएको छ सायद उहाँहरुलाई त्यो क्षेत्रमा बोलावट भएको होला । तर मेरो मुख्य जिम्मेवारी भनेको मण्डलीका विश्वासीहरुको रेखदेख गर्नु र आवश्यक संगति गर्नु हो । तर आफ्नो जिम्मेवारीलाई पन्छाएर र असर पर्ने गरी सबै क्षेत्रमा सहभागिता जनाउनु चाहि मलाई उचित लाग्दैन र मेरो समय पनि पुग्दैन । त्यसैले जसलाई माथिबाट परमेश्वरले जस्तो बोलावट र जिम्मेवारी दिनुभएको छ त्यस्तै पूरा गर्न पटि ध्यान केन्द्रित भएन भने सेवाकाईमा असर पर्न सक्छ त्यसैले म मण्डलीभित्रकै गतिविधिहरुमा व्यस्त हुने गर्छु तर संघ संगठनका कार्यक्रम प्रति वेवास्ता गरेको भने होइन र बेखबर पनि छुइन ।

Picture of Dunamis News

Dunamis News

ताजा अपडेट

Follow Us

© २०२५ Dunami News

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।