single page top banner

आज क्रिसमस डे हर्षोल्लासका साथ मनाइँदै

Dunami_nadmin Dunami_nadmin
बिहिबार, चैत्र 25, 2082
Social buttons loaded
समाचार सारांश
  • डुनामिस न्युज, काठमाडौँ — आज डिसेम्बर २५ का दिन विश्वभरका इसाई धर्मावलम्बीहरूले विभिन्न कार्यक्रम आयोजना गरी क्रिसमस डे हर्षोल्लासका साथ मनाइरहेका छन्।
  • यस अवसरमा शुभकामना आदान–प्रदान तथा उपहार साटासाट गर्दै येशु ख्रीष्टको जन्मोत्सव मनाउने परम्परा रहेको छ।

डुनामिस न्युज, काठमाडौँ — आज डिसेम्बर २५ का दिन विश्वभरका इसाई धर्मावलम्बीहरूले विभिन्न कार्यक्रम आयोजना गरी क्रिसमस डे हर्षोल्लासका साथ मनाइरहेका छन्। यस अवसरमा शुभकामना आदान–प्रदान तथा उपहार साटासाट गर्दै येशु ख्रीष्टको जन्मोत्सव मनाउने परम्परा रहेको छ।

सारा मानवजातिको मुक्ति र आत्माको उद्धारका लागि येशु प्रभु यस पृथ्वीमा जन्मनुभएको विश्वासका साथ उहाँको जन्मको सम्झनामा क्रिसमस मनाइने गरिन्छ। यद्यपि येशु ख्रीष्टको जन्म यही मितिमा भएको भन्ने ठोस ऐतिहासिक प्रमाण नभए पनि उहाँको जन्म पृथ्वीमा भएको तथ्यलाई आधार मानी इसाई समुदायले डिसेम्बर २५ लाई क्रिसमस डेका रूपमा मनाउँदै आएका छन्।

बाइबलमा उल्लेखित वचनअनुसार ख्रीष्टियन धर्मावलम्बीहरूले येशु ख्रीष्टलाई सारा मानवजातिका मुक्तिदाता तथा उद्धारकर्ताको रूपमा विश्वास गर्दै उहाँको जन्मदिनको स्मरणमा क्रिसमस डे मनाउने गर्दछन्।

यसै अवसरमा नेपालभर रहेका विभिन्न चर्चहरूमा विशेष प्रार्थना सभा, आराधना, भजन–कीर्तन, गीत तथा विविध सांस्कृतिक कार्यक्रमहरूको आयोजना गरिएको छ। देशका विभिन्न शहरहरूमा क्रिसमसको अवसरमा झिलिमिली बत्ती, आकर्षक सजावट र क्रिसमस ट्रीले वातावरण रमाइलो बनेको छ।

क्रिसमस डेका अवसरमा सरकारी कार्यालय तथा केही निजी संस्थाहरूमा सार्वजनिक बिदा दिइएको छ। साथै राष्ट्रपति, प्रधानमन्त्रीदेखि विभिन्न राजनीतिक दलका नेताहरूले शुभकामना सन्देश व्यक्त गरेका छन्।

इसाई विश्वासअनुसार आजभन्दा करिब दुई हजार २५ वर्षअघि डिसेम्बर २५ का दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो। पवित्र शास्त्र बाइबलअनुसार उहाँ आत्माद्वारा गर्भाधान भई कुमारी आमा मरियमको गर्भबाट जन्मनुभएको हो।

येशु ख्रीष्टले मानवजातिलाई मुक्ति, प्रेम र शान्तिको सन्देश दिनुभएको विश्वासका आधारमा ख्रीष्टियन समुदायले आजको दिनलाई प्रेम दिवस, शान्ति दिवस तथा मुक्ति दिवसका रूपमा समेत मनाउने गर्दछन्।

नेपालमा विसं २०६३ पछिदेखि नेपाल ख्रीष्टियन महासंघले क्रिसमस डे आधिकारिक रूपमा मनाउँदै आएको छ। महासंघका अनुसार हाल नेपालमा करिब ३० लाख ख्रीष्टियन धर्मावलम्बी तथा १३ हजारभन्दा बढी चर्चहरू रहेका छन्।

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
single post sidebar 2
single post sidebar 1 banner